बुटवलमा आजबाट एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल प्रतियोगिता सुरु

प्रकाशित मिति:

बुटवलमा एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।
एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा १० वटा खेलहरु भएका छन् । पहिलो दिनमा भएका खेलबाट विजयी भएका समुह अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबारको खेलमा काभ्रे जिल्ला भलिवल संघलाई आयोजक एभरेष्ट माविले हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै सुदुरपश्चमाञ्चल एकेडेमि कैलालीले रुद्रपुर पिसल्याण्ड भूपु सैनिक रुपन्देहीलाई, जानकी माध्यमिक विद्यालय चितवनले सगरमाथा माविलाई, थ्रीस्टार एकेडेमि काठमाण्डौले वीसडम एकेडेमी कञ्चनपुरलाई हराएर अघिल्लो चरणमा प्रवेश पाएको छ ।
त्यसैगरी सिद्धमावि दाङले नवज्योति मावि रुपन्देहीलाई र ज्ञानज्योति मावि बाँकेले प्यारामाउण्ट मावि काठमाण्डौलाई पराजित गरेका छन् । यस्तै न्यू डायमण्ड एकेडेमी काठमाण्डौ र टप्स मावि कास्कीले वाक वोभर पाएर विजयी भएका छन् । प्रतियोगिता अन्तरगत विहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका तथा दोस्रो चरणका खेलहरुमा शुक्रबार प्रि क्वाटर फाईनल र क्वाटर फाईनलका खेलहरु हुने प्रतियोगिता संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शरण शर्माले भलिवल खेलको विकास आशालागे जस्तो नभएकाले यसको विकासमा राज्यले गम्भिरताका साथ सोच्नु पर्ने बताउनुभयो ।
एभरेष्ट मावि विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, प्याब्सन बुटवल नगर समितिका अध्यक्ष कुलराज शर्मा, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्रिन्सिपल माधव आचार्य, शिक्षक माधव पौडेल लगायतले भलिवलको विकासमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले प्रतिस्पर्धा गरेका छन् ।