भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप दावा शेर्पा

२८ जेष्ठ २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  अरु दिन बेलुका ९ बजे सुत्ने दावा शेर्पा गत शनिबार भने दिउँसै सुते । उनलाई पर्खाइ थियो, ‘कोभिड-१९ भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’ को ।दुई दिनअघि नेपालका लक्ष्मण ऐरले उक्त च्याम्पियनसिपमा स्वर्ण जितिसकेका थिए । कोरोना भाइरस महामारीले विश्वभर त्रास फैलिरहेका बेला युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिका तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डले संयुक्त रुपमा च्याम्पियनसिप आयोजना गरेका थिए । यसमा तेक्वान्दोको पुम्से विधा समावेश थियो ।कोरोनाभाइरस महामारीले गर्दा विश्वभर खेलकुद गतिवधि रोकिएको बेला तेक्वान्दोको पुमसे विधाको अनलाइन प्रतिस्पर्धा गरिएको हो । पछिल्लो भर्चुअल च्याम्पियनसिपमा दावाले पनि नाम रजिस्टर गराएका थिए ।अमेरिकामा रहेको निलुको सहयोग र नेपालबाट लक्ष्मण ऐरले व्यवस्थापन गरेपछि दावाको नाम दर्ता भएको थियो । शनिबार दावासहित नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै थिए ।१८ वर्षीय दावाले अहिलेसम्म राष्ट्रिय प्रतियोगितामा भाग लिएका छैनन् । स्थानीय प्रतियोगिता मात्र खेलेका छन् । लकडाउनका कारण एसईई परीक्षा रोकिएर फुर्सदिलो बनेको मौकालाई उनले सदुपयोग गरे ।शनिबारको खेलमा उनले कलर बेल्ट जुनियर क्याटेगोरीमा स्वर्ण जिते । सुरुमा सहभागिता जनाउन र अनुभव लिन नाम दर्ता गराएका दावा पछि च्याम्पियन नै भए ।‘हामी त एकदमै अचम्भित भयौँ ।दावा आफैं पनि अचम्भित थियो,’ दावासहित केही बच्चाहरुलाई राखेर मुस्कान सेवा नेपाल नामक संस्था सञ्चालन गरिरहेकी भावना राईले

अनलाइनखबरसँग भनिन्, ‘सहभागिता नै ठूलो कुरा थियो, जितेपछि त खुशीको सीमा नै रहेन ।मुस्कान सेवा नेपालकी भावना राई र दावा शेर्पा । भावनाका अनुसार प्रतियोगिताका लागि दावाले धेरै दिन तयारी गरेका समेत थएनन् । उनले जम्मा ४ दिन तयारी गरेका थिए । अमेरिकी समयमा खेल हुने भएकोले नेपालमा राती ११-१२ बज्थ्यो । त्यही कारण दावा शनिबार दिउँसै सुतेका थिए ।‘मैले कति बजे खेल हुन्छ भनेर समय सोधेँ । मामुले राति ११ हुन्छ भनेपछि म चाँडै सुते,’ दावाले भने । मलाई ९ बजे नै निन्द्रा लाग्ने गर्थ्यो । मध्यरातमा खेल्नुपर्ने हुँदा राम्रो गर्न सकिँदैन कि जस्तो लागेको थियो । मभन्दा मामु नर्भस हुनुहुन्थ्यो,’ दावाले सुनाए ।पहिलो पटक भर्चुअल गेममा भाग लिँदा जित्ने उद्देश्य उनको थिएन । प्रयास गरौं न भन्ने मात्र थियो । ९० सेकेण्ड खेल देखाएर उनी आफ्नो विधामा पहिलो भए। नेपालबाट ५० वर्षमुनि लक्ष्मणले अर्को स्वर्ण जितका थिए भने अर्को स्वर्ण दावाकै नाममा रहृयो ।सुरुमा मिनु गुरुमार्फत दावाले यो प्रतियोगिताका बारेमा थाहा पाएका थिए । उनै मिनुले उनलाई भाग लिन प्रेरित गरेकी थिइन् ।‘यो टुर्नामेन्टबारे मिनु गुरुले फोन गरेर भन्नुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन म पनि उत्साहित भएको थिएँ,’ दावाले भने ।उनले सुरुमा पुम्से नम्बर ५ को अभ्यास गरेका थिए । तर के नमिलेको जस्तो भयो । पछि अर्को पुम्से इन्टरनेटबाट हेरेर २/३ दिन प्राक्टिस गरे । उनलाई भावनाले सहयोग गरिन् ।९० सेकेण्डको लाइभ डेमोस्ट्रेसन देखाएपछि नतिजाको पर्खाइ थियो । अनलाइन प्रतियोगिता सकिएको १/२ मिनेटमा रिजल्ट घोषणा भयो । दावा विजेता भए । खुशीले उफ्रिए । उनीभन्दा धेरै खुशी भावना थिइन् ।‘मामुको हौसलाले खेलेँ र पहिलोपटक लाइभ इन्टरनेशनल तेक्वान्दो जितेँ,’ उनले गर्वसाथ सुनाए ।

इम्पेरियल वर्ल्ड स्कुलमा १० कक्षामा अध्ययनरत दावा एसईईको परीक्षाको पर्खाइमा छन् ।भर्चुअल पुम्सेमा स्वर्ण जितेपछि अहिले उनको चर्चा बढेको छ । उनले मुस्कान सेवा नेपालको पनि इज्जत बढाएको भवानीले बताइन् ।‘यहाँ भएका सबै बच्चाहरु केही न केही खेलिरहेका हुन्छन् । कोही क्रिकेट, कोही पदडी खेल्छन् । गाउँछन् नाच्छन् । एकदमै रमाइलो छ । हामी एउटै परिवार जस्तो भएका छौँ,’ उनले भनिन् ।तेक्वान्दो पुम्सेमा सफलता हात पारिसकेका दावा पढाइलाई महत्वपूर्ण मान्छन् ।‘पढाइ पहिलो प्राथमिकता हो । तर, खेलकुदलाई पनि साथसाथै लिएर जाने हो,’ उनले आफ्नो योजना सुनाए । तर, उनको भविष्यको लक्ष्य भने अलि फरक छ । पढाइ सकेर उनी विजनेस म्यान बन्न चाहन्छन् ।उनले गत वर्ष आर्ट कम्पिटिसनमा पनि जित हात पारेका थिए । स्कुलमै ४५ मिनेटको आर्ट क्लास हुन्थ्यो । त्यसमा उनले सिकेका थिए । त्यही बेला एउटा कम्पिटिसन हुने भयो । सबैले दावालाई पनि भाग लिन भने । उनले पनि ट्राइ गरौं न त भनेर भाग लिए । र, अन्तमा पहिलो नै भए । उपाधि जितेपछि उनी चीन घुमेर आए ।आफू मात्र नभइ मुस्कान सेवा नेपालमा रहेका सबैजना प्रतिभावान र क्षमतवान रहेको दावाले सुनाए । यस संस्थामा अहिले देशका विभिन्न ठाउँबाट आएका १२ जना बच्चाहरु छन् । अहिले उनीहरुका लागि भवानीले भक्तपुरको सूर्यविनायकमा छुट्टै घर बनाइरहेकी छिन् । घर निर्माण सम्पन्न भएपछि अरु केही बच्चाहरु थप्ने उनको योजना छ ।अहिले भवानी बच्चाहरुसँग निकै खुशी छन् । संस्था चलाउन आफ्नो परिवारको साथ र सहयोग रहेको उनले बताइन् ।सानैदेखि यस्तै संस्थामा हुर्किएका दावाको भने आफ्नो परिवारसँग सम्पर्क छैन । उनी ७ वर्षदेखि मुस्कान सेवा नेपालमा छन् । त्यसैले उनी भवानीलाई नै मामु भनेर बोलाउने गर्छन् ।onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया