पत्रकारलाई प्रशासनमा उपस्थित गराई सोधपुछ गरेको प्रति नेपाल प्रेस युनियन स्याङजाद्धारा ध्यानाकर्षण

प्रकाशित मिति:

भवानी अधिकारी स्याङजा -समाचारका बिषयलाई लिएर स्याङजाका एक पत्रकारलाई प्रशासनमा उपस्थित गराई सोधपुछ गरेको घटनालाई नेपाल प्रेस युनियन स्याङजाले गम्भीरतापूर्वक लिएको जनाएको छ ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९ संक्रमणको कारण आम जनजीवन गम्भिर प्रभावित बनेको बेला मानव जीवन रक्षाका निम्ति स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी र संचारकर्मीले अग्रभागमा रहेर खटिएका छन् । यस्ता बिषम परिस्थितीमा एक समाचारका बिषयलाई लिएर नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा कार्यरत भूपराज बस्याललाई स्थानीय प्रशासनले प्रहरी मार्फत जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मंगलबार सोधपुछ गरेकोमा युयिनले चासो बढाएको हो ।

आमसञ्चार माध्यममा प्रकाशित, प्रशारित समाचारमा चित्त नबुझे उजुरी गर्ने बैधानिक बाटो छदाछदै पत्रकारको मनोबल गिराउनेगरी गरिएको यस किसिमको प्रशासनिक कार्यलाई प्रेस युनियन स्याङजाले निन्दनीय रहेको उल्लेख गरेको छ । प्रेस यूनियनका अध्यक्ष प्रदिप कोइरालाद्धारा बुधवार जारी प्रेस विज्ञप्तिमा गल्याङ्का स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारीको आत्महत्याको विषयमा प्रकाशित केही अनलाइन आएका समाचारलाई लिएर पत्रकार बश्याललाई प्रशासनले सोधपुछ गरेको थियो । ‘नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्दतिका बिरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास हामी सामु यथावत छ । लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात सिंहदरबारको अधिकार आफ्नै घर आँगनमा आउने आम नागरिकले अपेक्षा गरेका थिए । तर नागरिकका ती अपेक्षा अनुरुप स्थानीय तहहरु संचालन हुन नसक्दा सर्वसाधारण नागरिक मात्र नभएर स्वतन्त्र मानिएको प्रेस जगत समेत अप्ठारोमा परेको’ विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी प्रशासन र स्थानीय पत्रकारबीच कटुता उत्पन्न गराई कुत्सित स्वार्थ पुरा गर्न तल्लिन केहि स्वार्थी व्यक्ति र समूहले पत्रकार बिरुद्ध स्थानीय प्रहरी प्रशासनको दुरुपयोग गरेकोे यूनियनको ठहर छ । तसर्थ, यस किसिमको गतिविधि माथि समयमै नियन्त्रण गरी राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगत प्रति संबेदनशील हुन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी उपरीक्षक बिमलराज कणेल, राष्ट्रिय अनसुंधान शाखा प्रमुख कुमार बुढाथोकीलाई बुझाइएको सो बिज्ञप्तीमा समग्र जिल्लाको विकास निर्माण र शान्ति सुरक्षा लगायतका क्षेत्रमा स्थानीय पत्रकारको सहयोग लिन लिन समेत स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । सो बिज्ञप्ती बझ्दै प्रजिअ क्षेत्रीले पत्रकार र प्रशासनको गन्तब्य एउटेै रहेको बताउदै प्रशासन र पत्रकारबीच कटुता हुन नहुने बताउदै कमीकमजोरी र त्रुटी सच्चाउदै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । समाजका वास्तविकता औल्याउने पत्रकार जगत र समाजसेवाका निम्ति क्रियाशिल प्रहरी प्रशासनको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा उहाको भनाई छ ।