रोहिणी गाउँपालिकाद्वारा योजना माग

२९ जेष्ठ २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


भैरहवा  –  रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को योजना तर्जुमाको लागी योजनाहरु माग गरेको छ । बुधबार गाउँपालिकाको बसेको कार्यपालिकाको बैठकले कोरोना महामारीको बिषम परिस्थितिमा वडा भेला गराई योजना माग गर्न जोखिम रहेको जनाउदै सरोकारवालालाई वडा कार्यालय मार्फत लिखित रुपमा योजना माग गरेको छ । रोहिणी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि प्राथमिकता क्रम अनुसार वडा स्तरिय, गाउँपालिका स्तरिय, प्रदेश सभामा माग गर्ने र संघमा माग गर्ने हो सो स्पष्ट रुपमा खुलाई असार ३ गते भित्र योजना माग गर्न आग्रह गरेको छ । यस अघि सम्म वडा कार्यालयहरु मार्फत वडामा भेला गराई छलफल गरेर योजनाहरु माग भई आए पनि अहिलेको अवश्थामा स्वास्थ्य सम्बन्धि जोखिम रहेको कारण भेला गराउन सम्भव नभएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जनाए । भेला गर्न नसके पनि गाउँ टोलका आवश्यकताहरु ओझेलमा नपरुन भनेर सार्वजनिक रुपमा योजना माग गरिएको उनले बताए ।

“स्थानियहरुलाई आगामी आर्थिक बर्षको लागी आवश्यक योजनाहरु वडा कार्यालय मार्फत ल्याए त्यसको कार्यान्वयनमा आवश्यक बजेट बिनियोजन गरिनेछ ।” यादवले भने । चालु आर्थिक बर्षमा लकडाउन र कोरोनाको त्रासका कारण सम्पन्न हुन नसकेका योजनाहरुलाई पनि आगामी बर्षमा निरन्तरता दिईने गाउँपालिका अध्यक्ष यादवले बताए । असार सुरु हुनै लाग्दा धेरै उपभोक्ताहरु योजनालाई लिएर चिन्तित भएकोले यस बिषयमा कुनै चिन्ता नलिन यादवले आग्रह समेत गरेका छन् । अब योजनाको काम गर्न प्राविधिक रुपमा कठिनाई हुने हुदा सम्झौता भएका केही योजना बाहेक अन्य सबै काम अर्को आर्थिक बर्षमा गरिने उनले बताए । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले प्रक्रिया पु¥याएर मात्र योजना माग गर्न आग्रह गरेका छन् । उनले योजना छनौट गर्दा अति आवश्यक योजना प्राथमिकिकरण गरि सम्बन्धित वडा कार्यालयमा लिखित माग गर्नु पर्ने बताएका छन् । वडा कार्यालयमा पेश भएका योजनाहरु गाउँपालिकामा ल्याएर कार्यपालिकाको बैठकबाट अनुमोदन गराए पश्चात मात्र बजेटको ब्यवस्था हुने न्यौपानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया