सर्लाहीमा गोली चल्दा भारतीय नागरिकको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, जेठ ३० । भारतीय नागरिकले सर्लाहीमा सशस्त्र प्रहरीको हतियार खोसेपछि सीमा क्षेत्रमा तनाव भएको छ। सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिकरको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहसँग प्रहरीको विवाद भएको थियो। सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ।

सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले गोली लागेर भारतको पिपरा पर्साईन बस्ने २७ वर्षीय विकेश कुमारको मृत्यु भएको बताए। उनका अनुसार, घटनामा पाँच जना भारतीय घाइते भएका छन्। शुक्रबार बिहान करिब ९ बजे १५ जनाको समूहमा रहेका भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेका थिए। प्रहरीले रोक्न खोजेपछि उनीहरुले आक्रमण गरेको श्रेष्ठले बताए। उनीहरुले आक्रमण गर्दै हतियार खोसेपछि बाध्य भएर गोली चलाउनु परेको श्रेष्ठले बताए।सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न खोज्ने नवलकिशोर रायलाई नियन्त्रणमा लिइएको उनले बताएका छन्। अहिले पनि सीमा क्षेत्र तनावग्रस्त नै रहेको छ।