कोभिड १९ को सेरोफेरोमा नेपाली मिडियाको सामाजिक उत्तरदायित्व

प्रकाशित मिति:

कोभिडको महामारीमा संचार माध्यमको भूमिका अझै बढ्दै गएकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सेफर्ड कलेज काठमाडौंले शुक्रबार आयोजना गरेको  “कोभिड १९ को सेरोफेरोमा नेपाली मिडियाको सामाजिक उत्तरदायित्व” विषयक अनलाइन अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कोभिडले जन्माएका समस्यालाई उठान गर्ने र यस पश्चातका संभावनाको खोजी गर्नुपर्नेमा जोड दिएका थिए । कविता शर्माले संयोजन र हरि तिम्सिनाले विषय उठान र वर्तमान सन्दर्भमा प्रकाश पारेको कार्यक्रममा, पूर्व राजदुत तथा विश्लेषक विजयकान्त कर्ण,समाजशाष्त्री तथा विश्लेषक डा.दिनेश प्रसाई, समाजशाष्त्री तथा विश्लेषक मन्चला झाले आफ्ना विचार राखेका थिए । प्रस्तुत छ व्याक्त विचारको संम्पादित अंश  :

विजयकान्त कर्ण  : कोभिड जस्ता धेरै प्रकोप आए तर सबै मानवीय पक्षर जीवनलाई असर गर्ने कोभिड जस्तो कुनै पनि आएको थिएन कसैको कल्पना गरेको विषय थिएन । यसको कारण पनि विश्वमा कोही र कुनै पक्ष पनि यससँग जुध्न तयारी अवस्थामा थिएन । यसले सम्बन्धहरुमा पुनः परिभाषित गरेको छ । सामाजिक सम्बन्धमा पनि यसले बदलाव ल्याएको छ । यसले सामाजिक रुपमा पनि हामीलाई निरिह बनाएको छ । हाम्रो दैनिकी भित्र घटेका घटना तथा समस्यासँग जोडिन पनि नपाएको अवस्था छ । संचार माध्यम पनि कोभिडको प्रभावमा छन् । बाहिरका मिडिया जोखिम उठाएर काम गर्न जान तयार रहेको देखिन्छ तर यहाँ शुरुमा केहीले सक्रियता देखाए पनि निरन्तरता देखाउन सकेनन्, त्यसको कारण नेपाली मिडियाको क्षमताको कुरा पनि हो । यसमा आर्थिक तथा अन्य व्यवस्थापनको पाटो पनि हो । अर्को तिर नेपाली मिडिया धेरै राजनितीसँग बढि जोडिएका छन् । प्राथमिकता दिएकाछन् । नेपाली मिडियालाई काउण्टर दिन सिटिजन जर्नालिज्मले प्राथमिकता पाएको छ, सामाजिक संजालले सामाजिक घटनाक्रमलाई जसरी उठाएका छन् , त्यो उएटा प्रमाण हो ।
कोभिडको कारण गरिव र निरीहहरु परेका छन् । गरिव, दलित र महिला अफ्ठ्यारोमा परेका छन् । त्यस्ता घटना यस विचमा आए तर नेपाली मिडियाले त्यसमा फोकस गरेर समाचार संकलन गरेनन् । यस विचमा अल्पसंख्यकका कुरालाई बाहिर ल्याएको देखिएन । मानवीय संवेदना विर्सिएर प्रस्तुत हुने काम भयो । सरकारी स्तरमा यसको व्यवस्थापनको लागि तयारी गर्न सकेन, राष्ट्रिय राजनीतिको स्वार्थमा भुल्यो । मिडियाले पछिल्लो समय भष्ट्राचारका कुराहरुलाई बाहिर ल्याउने काम भयो । अर्को तिर कोभिडकै सन्दर्भमा भ्रामक कुरालाई चिर्ने गरि फ्याक्ट चेक गर्न पनि संचार माध्यमले भूमिका देखाउन सकेनन् ।
मिडियाको फैसिला जनताले गर्छ । सामाजिक कुराको न्याय जनताले गर्छन्, संचार संस्थाको मुल्यांकन पनि जनताले गर्छन् । फेक न्युज जसले सामाजिक सद्भाव र समाजको वास्तविकतालाई विगार्ने काम भएको छ, त्यो मिडियाको जिम्मेवारी हैन । पछिल्लो समयमा सरकारले आफ्नो असक्षमतामा टेकेर आफ्ना काम कारवाही अगाडि बढाएको छ । सरकारकै कारण समाज विभाजन भएको छ । अल्पसंख्यकलाई आक्षेप लगाउने काम भएको छ । उठाउनै पर्ने सामाजिक समस्यालाई बिषयान्तर गर्ने काम भएको छ । मिडियाले तिनै अल्पसंख्यकलाई प्राथमिकता दिनुपर्ने । कोरोनाको कारण १५ जना मर्दा १२ सय जना आत्महत्याले मरेका छन् । हत्या हिंसा भएका छन् । सरकारले मजदुरलाई पनि विभेद गरेको छ । त्यस्ता कुराई मिडियाले उठान गर्नुपर्छ । मिडियामा अहिले खोज सामाग्री छैनन् । तथ्य र तथ्यांकमा रहेर विश्लेषण हुनुपथ्र्यो त्यो भएको छैन ।
दिनेश प्रर्सांइ : मिडिया भन्ने बित्तिकै यो वृहत क्षेत्र हो । सरकारी मिडियाले सरकारकै गुणगान गाउने संस्कार छ, जसले सरकारको गलत प्रवृत्तिलाई लुकाउने प्रवृत्ति छ जुन नहुनु पर्ने थियो । अर्को तिर सिटिजन जर्नालिज्म जसले अहिले सामाजिक संजाल मार्फत आफ्नो विचार बाहिर ल्याउने काम गरेको छ । छद्मभेषी मिडिया जुन प्रायोजित छन् र तिनले अफवा फैलाउन तल्लिन छन् । अर्को व्यावसायिक मिडिया छन् जुन आफै पनि पिडित संस्थाको रुपमा छन् । जसका लगानी गरिएको छ, व्यापार खस्किएको छ यसको असर लगानीकर्ता र पत्रकारमा परेको छ । मिडियाकर्मी अग्रमोर्चा छन्, जोखिम उठाएका छन् यो सन्दर्भमा म कृतज्ञ छु । कोभिडको सन्दर्भमा मिडियाले सही सूचना प्रकाशमा ल्याउनु पर्ने मुख्य जिम्मेवारी छ तर शुरुमा मिडिया यस मुद्धाबाट विचलित भएर राजनितीक मुद्धलाई प्राथमिकता दिए । फेक न्युज र अफवाह फैलाउने खालका समाचार जसमा प्रधानमन्त्री आफैले अफवाह फैलाउन लाग्नुभयो त्यसलाई नेपाली संचार माध्यमले कभर गरे । नेपाली सरकारी संयन्त्रले मिडिया मन नपराउने र मिडियालाई त्रासमा राख्ने काम पनि भयो । यस विचमा रुकुमको घटना पनि भयो , यस्ता विषयवस्तुलाई पनि मिडियालाई प्राथमिकता दिन सक्नुपर्ने हुन्छ, त्यस तर्फ केही कम ध्यान पुगेको छ ।
साना तिना सामाजिक सम्बन्धका आयामलाई मैले नजिकबाट हेरेको छु । परिवार अन्तिममा हामीले सहारा लिने ठाउँ हो भन्ने कुरालाई कोभिड यता पुष्टि भएको छ । धेरै समय पछि घरमा भएका पुराना पुस्तासँग जोडिन पाएका छन् । अर्को कुरा हाम्रा ग्रामिण क्षेत्रमा कृषिको संभावना र संरचनामा बहस सृजना गर्नको लागि बाटो खोलेको छ, यसले व्यावसायिक कृषि हाम्रो विकल्प हो हैन भन्ने स्थिति सृजना भएको छ । नेपाली विदेशको अर्थतन्त्रमा भर पर्नुपर्ने अवस्थाले अहिले निम्न देखी मध्यम बर्गलाई असर पुराएको छ । कोभिडको कारण मजदुरलाई पहिल्यै असर गरेको छ, व्यावसायीक क्षेत्र देखी रोजगारीको अवसरमा यसले प्रभाव छाडेको छ र अब बिस्तारै हाम्रो व्याक्तिगत जीवन जुन मानसिक र अनिश्चयता हुँदै पारिवारिक र सामाजिक सम्बन्धमा असर गर्ने छ, संचार माध्यमले यसलाई उठान गर्न सक्नुपर्छ ।
मिडियाले शासन सत्तामा बसेकालाई दवाव दिने हो । सत्ताको लाजलाई उठान गर्ने हो तर सत्ता लजाएन भने तयसले पनि काम नगर्ला । सरकारमा चलाउने आफै झुट र छाडा बन्ने काम गर्दै आएका छन् । अहिले सरकारका गतिबिधीमा अपारदर्शीपन भएको अवस्था छ तर सरकारले त्यसलाई स्विकार गर्न सकेको छैन । यस्तो अवस्थामा सरकारले मिडियालाई दवाव दिन र जिम्मेवार बनाउन नसके पनि जनता जगाउन सक्छ ।
मन्चला झा :  पहिलो चरण कोरोनाभाइरसको बारेमा शुरुमा थाहै थिएन, संसारका संचार माध्यमले प्राथमिकता दिँदा पनि नेपाली संचार माध्यमले त्यति प्राथमिकता दिएका थिएन् , विस्तारै मिडियाले सामाजिक सचेतनामा कोभिड के हो भनेर जानकारी दिने सकारात्मक भूमिका खेले । यसबाट बच्न र नियन्त्रणको लागि मिडियाले भूमिका खेले । मिडियामा पनि रेडियो बिशेष प्रभावकारी रह्यो । जसले सबै नागरिकलाई समेट्ने प्रयास गर्यो । दोस्रो विश्व मिडियाले विश्वमा बढ्दै गएको कोरोनाको प्रभाव र क्षतिलाई त्रासको रुपमा मिडियाले समेट्ने कार्य भयो , यसले आम नागरिकमा मानसिक तनाव शुरु भयो । तेस्रो जव नेपालमा कोरोनाको महामारी फैलिन थाल्यो , यो अवस्थामा भुइमान्छे, सर्वहाराको अवस्थालाई केही हदसम्म समेट्ने प्रयास भएको छ । यसले सरकारलाई दवाव दिन भूमिका खेलेको छ । चौथौं , मिडियाले रोग भन्दा पनि भोकको चिन्तालाई देखाउने काम गरेको छ ।
कमजोरीको कुरा गर्दा धेरै समाचार संकलन धपेडीमा गर्ने काम भयो, तथ्यमा जाने काम भएन । केही यस्ता घटनाक्रम छन् जसले अफवाह फैलाउने काम मात्र भएको छैन, निश्चित सम्प्रदाय माथि समेत आक्षेप लगाउने काम भएको छ । अर्को तिर तथ्य परक हो भन्न्े तर्फ नगएर आक्रामक बन्ने मात्र काम भएको छ । मिडियाले उठाएका सवालहरु जुन अहिलेको सन्दर्भमा अनावश्यक उठान पनि भएको छ । यो अवस्थामा महिलाहरु घरेलु हिंसाको कारण समस्यामा छन् । गएको तीन महिनामा आठ सय बलात्कारका घटना प्रहरीमा गएका छन् । प्रतिकुल परिस्थितिमा धमिलो पानीमा माछा मार्ने भने जस्तै गरेर महिला हिसाका घटना बढ्दै गएका छन् । यस विचमा धेरै महिलाले उपचार नपाएर ज्यानै समेत जाने काम भएको छ ।
कोभिड १९ ले सामाजिक रुपमा मुख्य गरि असर पुराएको छ । कोभिड १९ का कारण एकले अर्कालाई छि छि दुर दुर गर्ने काम भएको छ , अर्को तिर आर्थिक मन्दीको अवस्थामा मुलुक गएको छ । आर्थिक रुपमा पनि ठुलो असर देखाएको छ । कोभिडले अर्को सकारात्मक प्रभाव पनि पारेको छ । यसले मुलुकलाई आत्म निर्भर बन्नको लागि पाठ सिकाएको छ । मुलुकमा भएका संभावनाको खोजी गर्दै त्यसलाई व्यवस्थापन गर्नको लागि संचार माध्यमले भूमिका निभाउनु पर्छ । त्यो सँगै अन्य सामाजिक मुद्धालाई उठान गर्दै प्राथमिकता दिनुपर्छ ।