पश्चिम रुकुम – जाजरकोट घटनाको प्रमुख कारण जातीय विभेद: अनुगमन टोली

प्रकाशित मिति:

बुटवल/पश्चिम रुकुम – जाजरकोट घटनाको प्रमुख कारण जातीय विभेद भएको भनी मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरुको अध्ययन तथा अनुगमन टोलीले शुक्रबार बुटवलमा आयोजित अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा निष्कर्ष प्रस्तुत गरेको छ । मानवअधिकार तथा शान्ति समाजको अगुवाईमा नागरिक अगुवा, सामाजिक अभियान्ता, अधिकारकर्मी एवं पत्रकारहरुको ६ सदस्यीय टोलीले जेठ २३ गतेदेखि २७ गतेसम्म अध्ययन अनुगमन गरी प्रतिवेदन तयार गरेको हो ।

उक्त प्रतिवेदनमा अन्तरजातीय प्रेम सम्बन्धलाई अस्वीकार गरेकै कारण घटना भएको ठहर गरिएको छ । जेठ १० गते जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं ४ रानागाउँका नवराज विकलाई रुकुम पश्चिम चौरजहारी घर भएकी उनकी प्रेमिका सुष्मा मल्लमार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिहरुको योजनामा क्रुर र बर्बरतापूर्ण तरिकाले ६ जनाको हत्या र अन्यलाई मार्ने ध्ययले कुटपिट गरिरहेको अवस्थामा प्रहरी आइपुगेकाले उनीहरु बच्न सफल भएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त आक्रमणबाट नवराज विकसहित टिकाराम नेपाली , गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको हत्या भएको र मृतकको शव भेरी नदीमा क्षतविक्षत अवस्थामा भेटिएको थियो ।वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले घटनाको पृष्ठभूमि,घटनाको प्रकृति र पछिल्लो अवस्थाका बारेमा बताउनु भएको थियो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले स्थलगत अध्ययन, अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज,अधिकारकर्मी, सञ्चारकर्मीहरुसँग घटनाबारे छलफल गर्दा घटना जातीय विभेदकै कारण सृजित अत्यन्तै नृशंस,क्रुर र पाशविक घटना भएको प्रतिवेदनको निचोड प्रस्तुत गर्नुभयो । सोती गाउँमा सुष्माकोे घर नजिक पुगेका यूवाहरुलाई देख्नेबित्तिकै आमा प्रकाशी मल्लले जातीय रुपमा अपमान गरी गाली गलौज गरेकी थिईन ।

त्यसपछि यूवाहरु गीत गाउँदै जाजरकोट तर्फ फर्किरहेका बेला अकस्मात घरेलु हतियार सहित ढुंगा मुढाले हान्दै चौतर्फी आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरी नपुगेको भए आफूहरुलाई पनि भिडले मार्ने थियो भन्ने भनाई घाईतेहरुको रहेको प्रतिवेदनमा उल्लेख छ । लकडाउन उल्लंघन गरेर यूवाहरु गाउँ पसेको बहाना बनाउँदै  चौरजहारी न.पा वडा नं. ८ का वडाअध्यक्षले प्रहरीलाई खबर गरेको तर घटनास्थलमा आउदा भने ठूलो भिडले एकतर्फी आक्रमण गरिरहेकोे अध्ययन अनुगमन टोलीको भनाइ रहेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था यूवाहरुमाथि एकोहोरो आक्रमण भएको थियो । त्यतिबेला कुटपिट नगर्न अनुरोध गर्दा पनि गाउँलेहरुले लखेट्न छाडेनन् । युवाहरुले कुनै प्रतिवाद गरेको देखिदैन । गाउँलेहरु कोही पनि घाईते भएका छैनन् , प्रतिवेदनमा उल्लेख छ । कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका यूवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदा हुँदै वडाअध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी साघांतिक आक्रमण र हत्या गरी भेरीमा फालेको देखिएको टोलीले जनाएको छ ।

घटनामा नवराजसँगै गैरदलित समुदायका यूवाहरु गोविन्द शाही र गणेश बुढा मगरकोसमेत क्रुरतापूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण देखिन्छ । आक्रमणकारीले एकोहोरो रुपमा ती यूवाहरुमाथि धारिला हतियार, तीखा ढुंगाहरुले प्रहार गर्दै माथिबाट तल भेरी नदी तर्फ लखेट्दै निर्ममतापूर्वक ढुंगाले टाउको, मुखमा हिर्काएको, थिचेको तथ्यले प्रमाणित गरेको बताइएको छ ।

बरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले सोती घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्वीकार गरेकै कारण सृजित भएकोमा कुनै शंका नरहेको बताउनु भयो । उहाँले दलित युवा नवराजलाई साथ दिंदा दुई जना गैरदलित यूवाले समेत ज्यान गुमाउनु परेको बताउदै यो घटना सामाजिक विभेदका कारण सृजित भएकोले यस घटनामा मारिएका ६ जना युवालाई सामाजिक सहिद घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

एडभोकेसी फोरमका अधिवक्ता शिव गौडेलले कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लेखित मौलिक हकलाई कार्यान्वयन गर्न तथा घटनाका दोषीलाई कडा कानुनी कारवाही, पीडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ती र घाईतेहरुको उपचारको व्यवस्था गर्न सरकारको ध्यानार्कषण गराउनु भयो । सो अनुगमन टोलीमा बरिष्ठ पत्रकार माधव नेपाल र पत्रकार विनोद परियार पनि सम्मिलित हुनुहुन्थ्यो । टोलीले जेठ २३ गतेदेखि २७ गतेसम्म पश्चिम रुकुम (चौरजहारी) र जाजरकोटमा पुगेर स्थलगत रुपमा घटनास्थल, पीडित परिवार तथा अन्य सरोकारवालाहरुसँग भेटघाट र तथ्य सूचना संकलन गरी अध्ययन, अनुगमन गरेको थियो ।