सरकारले कोरोनामा भएको खर्चको हिसाव सार्वजनिक गर्‍यो

प्रकाशित मिति:

काठमाडौं, जेठ ३१ । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका लगायत देशभर सरकार विरुद्ध प्रदर्शन भएपछि खर्च विवरण सार्वजनिक गरेको हो । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलेनै १० अर्ब खर्च भएको बताएपछि सरकारले केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहबाट अहिलेसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ। सरकारले सार्वजनिक गरेको खर्च विवरण अनुसार संघीय संचित कोषबाट सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेका छन्।यसैगरी औषधि तथा स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

त्यसैगरी ४० करोड १५ लाख ९ हजार रुपैयाँ अन्य शिर्षकमा खर्च भएको बताइएको छ । तर अन्यभित्र के–के समावेश गरियो भन्ने खुलाइएको छैन । यसैगरी प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ भने प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । यसैगरी प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।@kathamandupress