लकडाउन अवधीभर घरबहाल तथा बहाल कर छुटका लागि आग्रह

३१ जेष्ठ २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


हरिश ढकाल / बुटवल, ३१ जेष्ठ –  रुपन्देहीमा क्रियाशिल बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले लकडाउन अवधीभरको घरबहाल तथा बहाल कर छुटका लागि संयुक्त रुपमा आग्रह गरेका छन । कोरोना संक्रमणको त्रास र संभावित महामारीलाई रोक्न सरकारद्धारा जारी गरिएको लकडाउनका कारण आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग ब्यबसाय क्षेत्र तहसनहस भएको भन्दै २५ वटा संघ संस्थाका प्रतिनिधीहरुले घरबहाल तथा बहाल कर छुट दिन माग गरेका हुन् । बिगत ३ महिनादेखि आर्थिक क्षेत्र पुर्णतया ठप्प रहेको र सम्पुर्ण आर्थिक गतिबिधी तहसनहस भएकोले उद्योग ब्यबसाय एवं घरबहाल क्षेत्रलाई राहत प्रदान गर्न ठोस कार्यक्रम ल्याउन सरकार र सरोकारवालासँग माग गरेका छन । रुपन्देही जिल्लामा क्रियाशिल २५ वटा ब्यबसायिक तथा पेशागत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले संयुक्त रुपमा ७ बुंदामा सहमती गरि तिनै तहका सरकार लगाएत सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले जनाएको छ ।निजि क्षेत्रमा संचालित उद्योग तथा ब्यापार ब्यबसाय र बसोबासका क्षेत्रमा ५० प्रतिशत घरबहाल छुटका लागि आग्रह गर्दै बाँकी ५० प्रतिशत

सरल किस्ताबन्दीमा बुझाउने ब्यबस्था गर्न माग गरिएको छ । तर सरकारी तथा सार्वजनिक क्षेत्रमा संचालनमा रहेका ब्यबसायिक सटरहरुमा भने लकडाउन अवधीभर शत प्रतिशत बहाल मिनाह गर्न माग गरिएको छ । यसैगरि लकडाउन र घरबहाल छुट लगाएतका कारण घरधनीहरु पनि मर्कामा पर्ने अवस्था देखिएकोले स्थानिय सरकारले घरधनीबाट लिँदै आएको घरबहाल कर कम्तिमा छ महिनाको छुट दिनुपर्ने माग गरिएको छ । बर्षैपिच्छे घरबहाल बृद्धि हुँदा मर्कामा पर्दै आएका ब्यबसायीलाई कोभिड १९ बाट ब्यबसायिक असन्तुलन भएको अवस्थामा घरबहाल बृद्धिले थप मर्का पर्ने भएकोले कम्तिमा २ बर्षका लागि बहाल बृद्धिको क्रमलाई रोक्का गर्न तथा भाडामा संचालन गरिएका पेशा ब्यबसायको संरक्षणका लागि २ बर्षसम्म हटाउन नपाउने ब्यबस्था गर्नु पर्ने माग गरिएको छ । कोरोना अति प्रभावित क्षेत्रमा अत्यन्तै गम्भिर रुपले स्वास्थ्य अनुशासनको पालना गर्दै सतर्कता र सजगताका साथ उद्योग ब्यबसाय संचालन गर्ने वातावरण बनाउन यथासिघ्र नयाँ योजना ल्याउन स्थानिय सरकार समक्ष माग गरिएको छ । नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा बिगत लामो समयदेखि घरबहाल क्षेत्रमा देखिएका समस्या

समाधानका लागि घर बहाल क्षेत्र संरक्षण ऐन यथासिघ्र बनाउन प्रदेश सरकार समक्ष माग गर्ने समेत निर्णय गरिएको छ । बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरसका कारण यातायात ब्यबसाय, होटल ब्यबसाय, पर्यटन ब्यबसाय, निजि बिद्यालय, सौन्दर्य कला ब्यबसाय लगाएतका उद्योग धन्दा, सम्पुर्ण ब्यापार ब्यबसाय धरासायी बनेकोले सो अवधीको बैंक ब्याज मिनाह गर्न माग गर्ने पनि निर्णय गरिएको छ । लकडाउनका कारण रोजगारी गुमाई अलपत्र परेका, निम्न आय भएका र बहालमा बस्ने मजदुर बर्गलाई राहत स्वरुप रोजगारी लगाएतका बिशेष संरक्षणको ब्यबस्था गर्ने कार्यक्रम ल्याउन सरकार समक्ष माग गर्न माग गरिएको संघका अध्यक्ष खगेन्द्र पौडेलले बताए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, नेपाल घरबहाल महासंघका संस्थापक अध्यक्ष शंकर कोईराला, रुपन्देही ब्यापार संघका महासचिव दया भण्डारी, होटल ब्यबसायी संघका अध्यक्ष समुन्द्र जिसी, औषधी ब्यबसायी संघका अध्यक्ष सुरज भट्टराई, ढुण्डिराज पौडेल, लेखनाथ भण्डारी लगाएतले उद्योगी ब्यबसायीको हकहितलाई ध्यानमा राखेर समस्यालाई संबोधन गर्न सरकार समक्ष आग्रह गर्नु भयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया