वालिङका चार जना कोरोना संक्रमित  निको भई घर फिर्ता

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-स्याङ्जाका पहिलो चरणका कोरोना संक्रमित चार जना निको भई आज घर फिर्ता भएका छन् । जेठ १३ र १४ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आईसोलेसन र कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा उपचाररत चार जना निको भई घर फिर्ता हुनुभएको हो ।

आज घर फिर्ता हुनेहरुमा वालिङ नगरपालिका वडा नं. ७ र १३ का नागरिक हुन् । वालिङ ७ का २० र २९ वर्षीय पुरुष र वडा नं. १३ की ३९ वर्षीया महिला तथा २६ वर्षीय पुरुष निको भई घर फर्केका हुन् ।वालिङ नगरपालिकाले जिल्ला अस्पताल तथा कालिका सामुदायिक अस्पतालको आईसोलेसनबाट निको भएका नागरिकहरुलाई वालिङमा ल्याएर पूष्पगुच्छासहित विदाई गरेको हो ।

निको भएर आएका नागरिकहरुलाई विदाई गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँण एवं उपप्रमुख कल्पना तिवारीले उच्च मनोबल, धैर्यता र आत्मबलका कारणले कोरोनामाथि सहज बिजय हासिल गर्न सफल भएकोमा बधाई दिनुहुँदै अझै केही दिन होम क्वारेन्टिनमा बस्न सुझाव दिनुभयो । वालिङ नगरपालिकाका २९ जना कोरोना संक्रमितमध्ये हालसम्म पाँच जना निको भई घर फिर्ता भएका छन् भने एक जना बृद्धको उपचारका क्रममा निधन भएको छ

वालिङका २३ जना पुरुषहरु आईसोलेसनमा उपचाररत हुनुहुन्छ भने हाल वालिङका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनहरुमा एकसय एक जना रहनुभएको छ ।स्याङ्जा जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यसअघि गल्याङ नगरपालिकाका दुई र वालिङ नगरपालिकाका एक जाना गरी हालसम्म सात जना निको भएर घर फिर्ता भएका छन् । हालसम्म स्याङ्जा जिल्लामा एक जना ६० वर्षीय वालिङका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । एघार स्थानीय तह रहेको स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टिनहरुमा आठ सय ८१ जना रहेका छन् । हालसम्म स्याङ्जामा नौ सय ५५ जनाको स्वाब परीक्षण गरिएको छ भने एकहजार चारसय ७४ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।

थप समाचार