बर्दघाटका पत्रकारलाई ड्राईभिङ सेन्टरहरुले दिए के एन ९५ मास्क र सेनिटाईजर

प्रकाशित मिति:

नवलपरासी । असार १

कोरोना कहरले गाँजीरहेको समयमा पनि अग्र पंक्तिमा रहेर समाचार सम्प्रेशण गरिरहेका पत्रकारहरुलाई मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेका क्रियासिल पत्रकारहरुका लागि मास्क र सेनिटाईजर वितरण गरिएको हो । पत्रकारहरु जोखिम मोलेर फ्रन्टलाईनमा रहेर आम नागरिकलाई सुसुचित बनाउने कार्यमा खटिरहेकाले उनीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बर्दघाटमा रहेका तिन वटा ड्राईभिङ सेन्टरहरुले के एन ९५ मास्क र सेनिटाईजर सहयोग गरेका हुन् ।

बर्दघाट नगरपालिकामा हाल ५ वटा संचार गृह रहेका छन् । नगर भित्रका पत्रकारलाई पहिलोपटक ड्राईभिङ सेन्टरहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । नगर भित्रका बर्दघाट ड्राईभिङ सेन्टर, हाम्रो संसारकोट ड्राईभिङ र गोपिगञ्जमा रहेको भैरभ ड्राईभिङ सेन्टरले सहयोग गरेका हुन् । पत्रकारहरुलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण गर्दै बर्दघाट ड्राईभिङ सेन्टरका संचालक राजु अर्यालले कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा निरन्तर खटिरहेका पत्रकारहरुलाई केहि हद सम्म भए पनि सहयोग पुगोस भनेर नगरभित्र पहिलोपटक आफुहरुले सानो सहयोग गरेको बताउनुभएको थियो ।

पत्रकारको तर्फबाट सहयोग सामग्री बुझ्दै पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेले निजि क्षेत्रबाट नगर भित्रका पत्रकारलाई सहयोग गरी सम्बन्ध स्थापित गरेको भन्दै ड्राईभिङ सेन्टरहरुललाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । कोरोना विरुद्धको लडाई सबै मिलेर लड्नुर्पे बताउँदै यसमा सबैको सहकार्यहुनु जरुरी रहेको पाण्डेले बताउनुभएको थियो । कार्यक्रममा हाम्रो संसारकोट ड्राईभिङका संचालक प्रकाश घिमिरे, भैरभ ड्राईभिङका संचालक अञ्जान अधिकारीको पनि सहभागिता रहेको थियो ।