भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गरेको चीनको दाबी

प्रकाशित मिति:

२ असार, काठमाडौं । भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तलाई लिएर चीनको औपचारिक प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको बताएका छन् ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।

‘भारतीय सैनिकहरूले दुई पक्षबीच भएको समझदारीको गम्भीर उल्लङ्घन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो,’ ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै ट्विटरमा लेखेको छ ।

समाचारमा भनिएको छ, ‘चीनले भारतीय पक्षलाई आफ्ना अग्रपङ्तिका सैनिकहरूलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको छ । अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने छ ।’

विदेश मन्त्रालयले दुवै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको पनि स्मरण गराएका छन् ।

@onlinekhaber.com