प्रदेश ५ कांग्रेस संसदीय दलको प्रधानमन्त्रीसंग १० बुंदे माग

प्रकाशित मिति:

बुटवल, २ असार । नेपाली कांग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुंदे मागसहितको ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । नेपाली कांग्रेस, प्रदेश सभा संसदीय दलका कार्यवाहक नेता बिरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेश ५का मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई १० बुंदे ध्यानाकर्षण पत्र बुझाउंदै यस्तो माग गरेका हुन् । प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै कांग्रेसले आरडीडीको साटो क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ । कांग्रेसले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र संचालन गर्न, महिला र पुरुषलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न, नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी र एम्बुलेन्सको अनिवार्य व्यवस्था गर्न माग गरेको छ । यस्तै कोभिड १९ को नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गर्न, पीसीआर परिक्षणको दायरा विस्तार गर्न आवश्यक जनशक्ति अविलम्व व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

कोरोना संक्रमितको उपचारका लागि कोारेना विशेष अस्पताललाई आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका विरामीले पनि विना अवरोध उपचार पाउने सुनिश्चिता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । लकडाउनको अवधिमा प्रदेश ५ मा मात्रै सयौंजनाले आत्महत्या गरेका भन्दै कांग्रेसले नागरिकमा राज्यप्रति चरम निराशा बढेकाले यस्ता समस्याको समाधानमा पनि ध्यान दिन माग गरेको छ । तीन महिना लामो लकडाउनका कारण काम गर्न नपाएका, रोजगारी गुमाएका श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई न्यायोचित ढंगले राहत वितरण गर्न, राहतका खाद्य सामग्रीको गुणस्तर कायम गर्न र राहतको वितरण भनसुन र राजनीतिक आवद्धताका आधारमा नगर्न कांग्रेसको माग छ ।  विदेशमा विचल्लीमा परी घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गर्न, विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

कोरोना महामारीको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्ने औंल्याउंदै कांग्रेसले किसानलाई समयमै बीउ विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउन सरकारसंग माग गरेको छ ।  कोरोनाको विश्वव्यापी असरले देश भित्र र बाहिर लाखौं नेपालीहरुले रोजगारी गुमाएको भन्दै कांग्रेसले देशभित्र व्यापकमात्रामा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको औंल्याउंदै सांसद कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रपति शिक्षा जस्ता कार्यक्रम खारेज गरेर पालिकास्तरमा उत्पादनमुखी रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा वजेट पठाउन माग गरेको छ । प्रदेश ५ मा पर्यटन क्षेत्रमा खर्बौंको लगानी भएको तर लकडाउनले गर्दा होटेल,रेष्टुरा, उद्योग, व्यापार, यातायात लगायतका व्यवसायहरु ठप्प भएकाले उद्यमी र श्रमिकहरु ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको भन्दै सबैखाले उद्योग,व्यवसायको संरक्षण र श्रमिक मजदूरलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेज घोषणा गर्न कांग्रेसले माग गरेको छ । प्रदेश सरकार गठन भएको साढे २ बर्ष बितिसक्दा सम्म पनि प्रदेश सरकारले नामाकरण र स्थायी राजधानी तोक्ने कार्यको प्रक्रिया अघि नबढाएको भन्दै कांग्रेस संसदीय दलले तत्काल प्रकृया अघि बढाउन माग गरेको छ । कोभिड १९ विरुद्धको लडाईमा नेपाली कांग्रेस सरकारको साथमा रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका कार्यवाहक नेता कनौडियाले जानकारी दिए ।