बाणगंगाको नीति कार्यक्रमः सरोकारवाला भन्छन्, गौरवका आयोजना चिनेको खै ?

४ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


चार नम्बर ।
यही असार १० गते बाणगंगा नगरपालिकाले प्रस्तुत गर्न लागेको नीति र कार्यक्रममा गौरवका आयोजना समावेश गर्न सरोकारवालाले सुझाएका छन् । जनप्रतिनिधि निर्वाचित भएर स्थानीय सरकार चलाएको ३ बर्ष पुरा हुन लाग्दासमेत अझैसम्म नगरका गौरवका आयोजना चिन्न नसकेको भन्दै सबैले आलोचनात्मक सुझाव दिएका हुन् ।

आर्थिक बर्ष २०७७ । ०७८ को नीति तथा कार्यक्रमका सन्दर्भमा सुझाव संकलनको लागि भन्दै नगरपालिकाले बिहिबार बाणगंगा ३ राजापानीमा आयोजना गरेको कार्यक्रममा बोल्ने संविधान सभा सदस्य, प्रदेश सांसद, राजनैतिक दलका प्रतिनिधि, उद्योग ब्यापार तथा संचार क्षेत्रका प्रतिनिधिहरुले नगरले केही राम्रा काम गरेको भए पनि गौरवका आयोजना चिन्न नसक्दा जनतामा निरासा पैदा भएको बताए ।

प्रमुख अतिथि संविधा सभा सदस्य डोर प्रसाद उपाध्याय पौडेलले नगरले पहिले आफ्नो विकासको दृष्टिकोण तयार पार्न सुझाउनु भयो । उहाँले भन्नुभयो, “सबैभन्दा पहिले नगरको गौरवको आयोजना चिनेर योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ । साथीहरुले नगरको गौरवको आयोजना खै भनेर प्रश्न उठाउनु भयो । जुन जायज छ ।”

उहाँले दृष्टिकोण तयार भएपछि उत्पादन शिल क्षेत्र पहिचान गरी लगानी बढाउन सुझाउनु भयो । तत्काल गर्नु पर्ने र दीर्घकालसम्म गर्ने कामको प्राथमिकिकरण गरेर नगरले योजना बनाउनु पर्ने बताउनु भयो ।

संविधान सभा अर्का सदस्य बलराम अधिकारीले पनि नगरले अहिलेसम्म गौरवका कुनै कार्यक्रम गर्न नसकेकोमा आलोचना गर्नुभयो । उद्योग पर्यटन, सिंचाई आदिको क्षेत्रमा ठोस निर्णय गर्न नसक्दा नगरले भनेजति विकास गर्न नसकेको बताउनु भयो । उहाँले अब नगरको साच्चै विकास गर्ने हो भने औद्योगिक क्षेत्र तोक्नु पर्ने बताउनु भयो । बाणगंगा संस्कृतिमा धनी भएकाले एउटा सांस्कृतिक संग्राहलय समेत बनाउने गरी आगामी नीति र कार्यक्रम आउनेमा विश्वास ब्यक्त गर्नुभयो ।

संविधान सभा सदस्य विश्राम प्रसाद थारुले पूर्वाधार विकासमा हुने काममा गुणस्तरीयता नभएको, प्रत्येक घरमा ढल र नालीको ब्यवस्थापन नभएको, नगरको मापदण्ड विपरित घरहरु बन्दा धेरै समस्या भएको भन्दै आगामी नीति, कार्यक्रम र बजेटमा यी कुरालाई समेट्न सुझाव दिनुभयो ।

प्रदेश ५ का सांसद विष्णु पन्थीले नगरलाई सुझाव भन्दा पनि प्रदेशले गर्न लागेका कामको बारेमा बताउनु भएको थियो । सांसद पन्थीले नगरले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिएर नीति निर्माण गरी बजेट बनाउन सुझाउनु भयो । नगरले राम्रो गर्दै गइरहेको भए पनि फोहर ब्यवस्थापन केन्द्र, बसपार्क, कृषिजन्य र औद्योगिक वस्तु संकलन केन्द्र आदि स्थापना गर्न नसक्दा जनताले प्रश्न उठाउने ठाउँ रहेको बताउनु भयो ।

उहाँले अब पिपरा अस्पताललाई ट्रमा सेन्टर बनाइने, भलवाडमा औद्योगिक ग्राम, बोडगाउँ र चार नम्बरको मायादेवी र बुद्ध रंगशालालाई प्रादेशिक खेलकुद मैदानको रुपमा विकास गर्न लागिएकोले नगरले पनि सोही अनुसार नीति बनाउनु पर्ने सुझाव राख्नु भयो ।

नेकपा कपिलवस्तु अध्यक्ष झविलाल पोख्रेलले बाणगंगाले चीनको एक प्रान्तसंग भगिनी सम्बन्ध कायम गर्नु, विश्वका सय सहरभित्र बाणगंगा पर्नु लगायतका काम राम्रा भए पनि सरसफाइ र शिक्षामा नगर नराम्ररी चुकेको बताउनु भयो । शिक्षाको गुणस्तर लाज मर्दो भएको, विद्यार्थी संख्या न्यून भए पनि मर्ज गर्न नसकेर बर्षेनी बजेट मात्र गएको, राजनैतिक दलले नै नदीजन्य पदार्थदोहन गर्नेलाई प्रश्रय दिएको, नगरले सुकुम्बासीहरुको लगत संकलन गर्न चुकेको, सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास बढेको भए पनि नगरपालिका चुप लागेर बसेको लगायतका समस्या भएकाले नीति कार्यक्रममा यी कुरा समेट्न सुझाउनु भयो ।

काग्रेश कपिलवस्तुका प्रतिनिधि रविराज काफ्ले र बाणगंगा नगर अध्यक्ष विष्णु थापाले नगरको योजना कर्मकाण्डीजस्तो देखिएको बताउनु भयो । उहाँहरुले विगतका नीति र कार्यक्रमको कार्यान्वयन पक्ष निकै कमजोर भएकाले अब त्यसो नगर्न सुझाउनु भयो । अहिलेसम्म नगरले गौरव गर्ने कुनै कार्यक्रम नआएको भन्दै अब रोजगारी, कृषि र शिक्षालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउन सुझाउनु भयो । नगरअध्यक्ष थापाले कोरोनाका कारण धेरै समस्यामा परेका कारण उनीहरुलाई केही राहत दिनु पर्ने बताउनु भयो ।

कपिलवस्तु उद्योग संघका अध्यक्ष उमानाथ पौडेलले औद्योगिक क्षेत्र बनाउनु नगरको आवशयकता रहेको बताउनु भयो । उद्योगबाट रोजगारी दिने सम्भावना रहे पनि नगरले उद्योग मैत्री नीति नबनाउँदा समस्या भएको बताउनु भयो । उहाँले चाक्लाबन्दी गरेर कृषिको विकास गर्ने, हाट बजार ब्यवस्थापन आदि कुरालाई नगरले आगामी योजना बनाउनु पर्ने बताउनु भयो ।

सामुदायिक रेडियो प्रसारक संघ जिल्ल समन्वय समित कपिलवस्तुका संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले नगर मिडिया मैत्री नभएको बताउनु भयो । मिडियाहरुले नगरको विकासमा महत्वपूर्ण भुमिका खेलेको भए पनि हेर्ने दृष्टिकोण विभेदपूर्ण भएको बताउदै आगामी बजेटमा उचित रकम विनियोजन गर्न सुझाउनुभयोे । नगरले अल्पकालिन् र दीर्घकालिन योजना बनाएर काम गर्न चुकेको बताउँदै अबको नीति कार्यक्रममा त्यो कमजोरी नगर्न सुझाउनुभयो ।

साथै उहाँले शिक्षामा बजेट विनियोजन हुनु तर शैक्षिक सुधार नहुनु, लामोसमय विद्यालय ब्यवस्थापन समिति गठन हुन नसक्नु, योजना समापन गरेपछि त्यसको मुल्यांकन नहुनु, सरकारी विद्यालयमा दरबन्दी मिलान नहुनु र मर्जमा नजानु शिक्षा क्षेत्रको प्रमुख समस्या भएको बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले आगामी नीति र कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । नगरले ५ बटा सुचक बनाएर अबको नीति कार्यक्रम ल्याउने जनाइएको छ ।

अर्यालले आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, वन विकास, शुषासन र असल न्याय र तथा कला संस्कृति अनि वैदेशिक समन्वय बिभाग गरी ६ शीर्षकमा नीति र कार्यक्रम प्रस्तुत गरिने बताउनु भयो । नीति र कार्यक्रममा कृषि र भौतिक विकासका काम, स्वास्थ्य, शिक्षा, रोजगारी, पनि प्राथमिकतामा पर्ने छन् । कोभिड १९ को कारण स्वास्थ्य र रोगजारीमा पनि विशेष ध्यान दिन लागिएको अर्यालले बताउनु भयो । स्थानीय पाठ्यक्रममा वौद्ध शिक्षा राख्नेदेखि नगर प्रहरी भर्ना कार्यक्रम अहिलेका नयाँ कार्यक्रम रहेका छन् ।

कार्यक्रमका अध्यक्ष एवम् नगर प्रमुख मंगल प्रसाद थारुले चालु बर्षमा कोभिड १९ को महामारीका कारण सबै क्षेत्र तहसनहस भएकाले नगरका धेरै काम पनि प्रभावित भएको बताउनु भएको थियो । उहाँले प्राप्त सुझावलाई समेटेर १० गते नीति र कार्यक्रम प्रस्तुत हुनेमा विश्वास गर्न सबैलाई अनुरोध गर्नुभयो । सुझाव संकलन कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नुभएको थियो ।

@Madevi Online

फेसबुकबाट तपाईको प्रतिक्रिया