क्वारेन्टिनबाट घर गएकै दिन बर्दियामा एक व्यक्तिको मृत्यु

प्रकाशित मिति:

५ असार, काठमाडौं । बर्दियामा र्‍यापिड डाइग्नोस्टिक ९आरडीटी० टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ ।

क्वारेन्टाइनबाट घर पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज शर्माले अनलाइनखबरलाई बताए । मृत्यु भएका व्यक्ति गत जेठ २२ गते काठमाडौंबाट गएर वडा नम्बर–३ स्थित खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा बसेका थिए ।

‘आरडीटी  रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार दिउँसो १ बजे घर गएका हुन्,’ शर्माले भने, ‘राति ८र९ बजेको समयमा श्वास लिन गाह्रो भएको, टाउको र पेट पनि दुखेको भनेर परिवारका सदस्यले जानकारी गराएका थिए । एम्बुलेन्सको व्यवस्था मिलाएर उनलाई बर्दिया जिल्ला अस्पताल लैजान सुझाव दिएका थियौं । तर अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भएको जानकारी आयो ।’

नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले भनिन्, ‘१४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको बिहीबार आरडीटी परीक्षण गरिएको थियो । घर पठाउँदा उनमा कुनै स्वास्थ्य समस्या थिएन । तर राति एक्कासी श्वासप्रश्वासमा समस्या आएको र पेट दुख्ने गरेको जानकारी हामीले पायौं । त्यसपछि सिधै एम्बुलेन्सको व्यवस्था गरेर उपचारका लागि राति नै उनलाई बर्दिया अस्पताल पठाएका थियौं । तर अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको खबर आयो ।’

उपप्रमुख दहितका अनुसार पीसीआर परीक्षणका लागि मृतक व्यक्तिको स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ । रिपोर्ट आएपछि मात्रै उनको अन्त्येष्टि गरिने उपप्रमुख दहितले बताइन् ।

@onlinekhabar.com