मजदुरको हडतालले अनिश्चितकालका लागि बन्द भएको होटल हायात खुल्यो

काठमाडौं – सेवासुविधाको माग गर्दै मजदूरहरु आन्दोलनमा उत्रिएपछि जेठ ३० गतेदेखि पूर्णरुपमा बन्द भएको पाँचतारे होटल तारागाउँ हायात रिजेन्सी होटल बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । कर्मचारीहरु बुधबार बिहानैदेखि काममा आएसँगै होटल सञ्चालनमा ल्याइएको होटलका मानव संशाधन संयोजक सुरेश केसीले जानकारी दिए।

श्रम ऐनअनुसार होटलले सेवासुविधा नदिएको भन्दै कर्मचारीहरु हडतालमा उत्रिएपछि होटलको काम पूर्णरुपमा बन्द गरिएको थियो। अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघले कर्मचारीहरुलाई उचारलेर अनावश्यक माग राख्दै होटल बन्द गर्न बाध्य पारिएको केसीले नेपाल लाइभलाई बताए। उनले भने, ‘आज बिहानैदेखि कर्मचारीहरु काममा फर्कनुभयो, त्यसपछि होटल खुल्ला गरिएको हो।’

विभिन्न माग राखेर हड्तालमा उत्रिएका कर्मचारीहरु कुनै सहमतिबिना नै आफैं काममा फर्किएको होटलले जानकारी दिएको छ। अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर संघका केन्द्रीय महासचिव तथा आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले भने श्रम तथा रोजगार कार्यालयले दुवै पक्षलाई वार्तामा बोलाएर विवाद समाधान गर्ने भन्दै पत्राचार गरेपछि कर्मचारीहरु काममा फर्किएको बताए। उनले भने, ‘कर्मचारीहरुका माग वार्तामा सम्बोधन हुन्छन् भन्ने अपेक्षासहित हामी काममा फर्किएका हौँ।’

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal